काठमाडौं । तिहारको मुख्य दिन आज दिदीबहिनी र दाजुभाइबीच टीका ग्रहण गरेर भाइटीका मनाइदै छ । यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभएपनि उत्तम साइत भने बिहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष भाइटीका लगाइदिने पूर्व र लगाइमाग्ने पश्चिम फर्कनुपर्ने समितिले जनाएको छ । लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको आज पूजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ ।
टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटी लगायत खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा र दक्षिणा दिई सम्मान गर्ने परम्परा छ ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रुपमा मनाउँछन् । तिहारको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीसहित विभिन्न दलका शिर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।
यसैबीच काठमाण्डौको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि आज खुल्ला गरिएको छ । बालगोपालेश्वर मन्दिरमा दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जम्मा भएर भाइटीका लगाउने गर्दछन् ।