काठमाडौँ । महामारीका समयमा पनि बैदेशिक लगानीमा भने बृद्धि भएको छ । यो वर्षको भदौ मसान्तसम्ममा यस्तो बैदेशिक लगानी ३ अर्ब ४ करोड रहेको देखिएको छ । गत वर्ष यस्तो खुद प्रत्यक्ष वैदेशिक लगानी २ अर्ब ४४ करोड रहेको थियो ।
महामारीका समयमा आएको यो बैदेशिक लगानी प्रतिबद्धता मात्रै होइन । स्वदेशमा नै भित्रिएको रकम हो । तर स्वदेशमा आएको यो रकममा बृद्धि भएको देखिएपनि यसले मुलुकको सोधनान्तर घाटालाई भने थेग्न सकेको छैन ।
झिनो मात्रामा मात्रै आएको रकमले यस्तो सोधनान्तर घाटा थेग्न नसकेको हो । यो अवधिमा शोधनान्तर स्थिति ८३ अर्ब ४१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६७ अर्ब ६३ करोडले बचतमा रहेको थियो ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ६२ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७० करोड ४३ लाखले घाटामा रहेको छ ।
२०७८ असार मसान्तमा १३९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ६.६ प्रतिशतले कमी आई २०७८ भदौ मसान्तमा १३०६ अर्ब ९५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ५.२ प्रतिशतले कमी आई ११ अर्ब १४ करोड कायम भएको छ ।
विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२४४ अर्ब ६३ करोड रहेकोमा २०७८ भदौ मसान्तमा ७.७ प्रतिशतले कमी आई ११४८ अर्ब ६९ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा २०७८ भदौ मसान्तमा २.५ प्रतिशतले वृद्धि भई १५८ अर्ब २७ करोड पुगेको छ । २०७८ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.२ प्रतिशत रहेको छ ।
त्यस्तै विप्रेषण आप्रवाह ६.३ प्रतिशतले कमी आई १५५ अर्ब ३७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड रहेकोछ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।