काठमाडौं । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपाली साहित्यमा सयभन्दा धेरै कृति लेखेर योगदान गरेका देवकोटाले कलिलो उमेर दश वर्षदेखिनै कविता लेख्न सुरु गरेका थिए। देवकोटाका महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र कविता प्रकाशित छन् ।
नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक मानिन्छ ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृतिप्रेम र क्रान्तिकारिता झल्कन्छ ।
महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो ।
२०१६ सालमा शिक्षामन्त्री हुँदा देवकोटाले नेपाली भाषालाई अनिवार्य विषयका रूपमा नेपालभर लागू गराएका थिए ।