काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीको १० औँ महाधिवेशन स्थलको निरीक्षणका लागि आज चितवन जादैछन् । आगामी मङ्सिर १० गतेदेखि हुने महाधिवेशनको स्थलगत अवलोकन र जानकारी लिन ओली चितवन जान लागेका हुन् ।
ओलीले महाधिवेशन उद्घाटन हुने स्थान नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरिक्षण गर्ने छन् । एमालेले नारायणी नदी किनारमा अधिवेशनको उद्घाटन गर्ने भने पनि बन्द सत्र कहा गर्ने भन्नेमा अझै निर्णय गरेको छैन ।
बन्द सत्र होटलमा वा खुल्ला ठाउँमा गर्ने भन्ने विषयमा टुङ्गो लगाउन नसकिरहेका बेला ओलीको अवलोकन पछि ठाउ तय गरिने बताइएको छ । महाधिवेशनमा मुलुकभरबाट करिब दुई हजार प्रतिनिधि सहभागी हुने छन् ।
काठमाडौँबाट स्थलमार्ग हुँदै ओली चितवन जान लागेका हुन् । दुई दिनको चितवनको बसाईका क्रममा ओलीले माडीको अयोध्याधाम र नारायणी नदीमा क्रुजको अवलोकन गर्ने छन् । बाटोमा पर्ने विभिन्न स्थानमा नेकपा एमालेका नेता कार्यकर्ताले स्वागतका कार्यक्रम राखेका छन् ।