काठमाडौँ । अमेरिकाले संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नहुँदा लाखौं नेपाली यसबाट पाउने लाभबाट बञ्चित भएको बताएको छ ।
वासिङटन डिसीस्थित एमसीसीको मुख्यालयले एमसीसी पारित नगरि संसद अधिवेशन स्थगित गरेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । उसले विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो ।
गत महिना एमसीसीका उपाध्यक्ष फातिमा सुमारको भ्रमण भएका बेला संसदबाट एमसीसी पारित गर्ने बारे नेपाल सरकारले प्रतिवद्धता जनाएको समेत विज्ञप्तिमा उल्लेख छ । अमेरिकाले एमसीसीअन्र्तगत ६० अर्ब रुपयाँ अनुदान दिने भनेको छ । एमसीसी कार्यान्वयनअघि संसदबाट पारित गर्नुपर्ने व्यवस्था भएपछि नेपालका राजनीतिक दलहरु सोबारे विभाजित छन् ।
अमेरिकाले दिने भनेको झण्डै ६० अर्ब रुपयाँ नेपालको उर्जा र सडकलगायत पूर्वाधार विकासमा प्रयोग गरिने भनिएको छ । तर एमसीसी कार्यान्वयन गर्न भएको ढिलाइबाट नेपाली जनता त्यसको लाभ लिनबाट बञ्चित भइरहेको एमसीसी मुख्यालयले जनाएको छ ।
उपाध्यक्ष सुमारसँगको भेटमा प्रधानमन्त्रीलगायत गठबन्धन दलका शीर्ष नेताहरुले एमसीसीबारे दलीय सहमति जुटाएर निर्णय लिने भनेका थि ए। प्रतिपक्षी दल नेकपा एमालेले समेत सरकारको स्पष्ट धारणा आएपछि एमसीसीबारे प्रतिक्रिया दिने भनेको छ । विसं २०७४ भदौ २९ गते तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालका तर्फबाट वासिङटन डिसीमा एमसीसी सम्झौतामा हस्ताक्षर गरेका थिए ।