काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आज (बिहीबार) का लागि आफूसहितका इजलास तोकेका छन् । उनले आफ्नो एकलसहित १६७ पेशी तोकेका हुन् ।
विहीबारका लागि उनले बृहत् पूर्ण इजलास, संयुक्त इजलास साथै एकल इजलास तोकेका हुन् । प्रधानन्यायाधीश जबराले आफ्नो एकल इजलासमा ३० वटा मुद्दा राखेका छन् । पदबाट राजीनामा दिनुपर्ने चर्को दबाबमा परेका जबराले विवादकैबीच बुधबार पनि ११ इजलास तोकेका थिए ।
जसमध्ये जबराको एकल इजलासमा सुनुवाइ भए पनि अन्य इजलासमा भने सुनुवाइ हुन सकेन् । सोमबार र मङ्गलवार कुनै पनि मुद्दामा सुनुवाइ हुन सकेको थिएन । बुधबार उनले आफ्नो एकल इजलासमा पाँच वटा निवेदनमा सुनुवाइ गरेका थिए।
गएको सोमबारदेखि सर्वोच्च अदालतका न्यायाधीशहरुले अघोषित रुपमा इजलास बहिष्कार गर्दै आएपछि सोमबार र मंगलबार प्रधानन्यायाधीश राणाले आफ्ना लागि इजलास गठन गरेका थिएनन् । तर बुधबार भने पेसी तोकेका थिए । प्रधानन्यायाधीश जबरामाथि न्यायिक विचलन, राजनीतिक भागबन्डा तथा भ्रष्टाचारमा संलग्न भएको आरोप छ ।
न्यायाधीशहरु विरोधमा छलफल गर्दै
प्रधानन्यायाधीश जबरा आफ्नो एकल इजलासमा सुनुवाइ गरिरहँदा उनीविरुद्ध उत्रिएका न्यायाधीशहरूले छलफलमा जुटेका छन् । बिहीबार पनि न्यायाधीशहरु छलपलमा जुटेका छन् । प्रधानन्यायाधीशले तोकेका पेसी बहिष्कार गर्नकै आफूहरुले बैठक राखेको एक न्यायाधीशले बताए ।