शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

विवादमा तानिएका सबैले राजिनामा दिए म पनि राजीनामा दिन्छु

मंगलबार, कार्तिक ९ २०७८

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले विवादमा तानिएका सबैले राजिनामा दिए आफुले पनि राजीनामा दिने होईन भने सडकमा माग्दैमा राजीनामा नदिने स्पष्ट पारेका छन् ।

मार्ग प्रशस्त गरिदिन आग्रहसहित आफूलाई भेट्न आएका सर्वोच्च अदालतका १५ न्यायाधीशलाई जबराले यस्तो जवाफ दिएका हुन् ।

राणाले सर्वोच्चका अन्य कतिपय न्यायाधीशहरुमाथि पनि प्रश्न उठेकाले उनीहरुले पनि राजीनामा दिने भए आफू त्यसका लागि तयार रहेको बताएका छन् । ‘तपाईंहरुमध्ये कतिपयमाथि पनि प्रश्न उठेको छ । तपाईंहरु दिनुहुन्छ भने म पनि राजीनामा दिन्छु’, जबराले भने, ‘अहिले कतिपयमाथि पनि प्रश्न उठेको छ । जो जोमाथि प्रश्न उठ्छ, उनीहरुले राजीनामा दिँदै जाने हो त ?’ ‘यदि त्यसो होइन भने म पनि राजीनामा दिन्नँ’, उनले भने, ‘मेरो संवैधानिक नियुक्ति हो । मैले बाहिरिनु परेमा संवैधानिक बाटो नै अख्तियार गर्नेछु ।’

फुल कोर्ट बहिष्कार गर्नुका साथै इजलासमा नबसेका सर्वोच्च अदालतका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश जबरालाई भेटेर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । तर जबराले भने सडकमा कसैले मागेको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । ‘विवादमा जो जो छन्, सबैले दिने हो भने सोच्न सकिन्छ, होइन भने सडकमा माग गर्दैमा राजीनामा दिन सकिन्नँ,’ जबराले भनेका छन् ।

उनले आफू संवैधानिक प्रक्रियाबाट आएको र जाने प्रक्रिया पनि संवैधानिक नै भएको समेत बताएर सक्ने भए महाअधियोग लगाऊँ भन्ने संकेत गरेको स्रोतको दाबी छ । अहिले जबरालाई भेटेका न्यायाधीशहरु छलफलमा छन् ।