काठमाडौँ l प्रदेश नम्बर–१ प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले यहाँ सरकारको नेतृत्व आलोपालोमा हुनुपर्ने बताएका छन् ।
सरकारको नेतृत्व गर्न नेपाली कांग्रेस तयार रहेको कोइरालाले बताए । आज प्रदेशसभा सचिवालयमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले भने, ‘वागमतीमा एउटा र प्रदेश–१ मा अर्को नियम लागु हुँदैन । यहाँ पनि आलोपालो हुनुपर्छ ।’
मुख्यमन्त्री भीम आचार्यको विश्वासको मतका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज प्रदेशसभा बैठक बोलाएका छन् । तर, बैठक रोक्न माग गर्दै कांग्रेस र नेकपा (एमाले) ले प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका छन् । ‘फ्लोर क्रस’ गर्ने सूचना आएपछि अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ ।
कोइरालाले आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका छन् । मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा कांग्रेसले एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने उनले बताए ।
यद्यपि उनले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नका लागि आफूहरुको माग रहेको पनि प्रस्ट पारे । उनले भने, ‘हामी गठबन्धनप्रति प्रतिवद्ध छौं, एमाले नेतृत्वको सरकारलाई जोगाउन हामी कुनै पनि प्रकारको भूमिका निर्वाह गर्ने छैनौं ।’