काठमाडौँ । आज अक्टोबर २४ अर्थात् संयुक्त राष्ट्रसङ्घ स्थापना दिवस । दिवसका अवसरमा नेपाली सेनाले आज काभ्रेकोे पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा विशेष कार्यक्रम गर्दैछ ।
राष्ट्रसङ्घ स्थापना दिवसका अवसरमा केन्द्र परिसरमा झण्डोतोलनका साथै शान्ति स्थापना कार्यमा खटिने क्रममा निधन हुनेको योगदानको स्मरण गरी सम्मान प्रकट गर्ने कार्यक्रम रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।
सो कार्यक्रममा रक्षामन्त्री डा मीनेन्द्र रिजाल, प्रधानसेनापति प्रभुराम शर्मा, यहाँस्थित संयुक्त राष्ट्रसङ्का आवासीय संयोजक सारा बेइसोलो न्यान्ती, विभिन्न दूतावासका प्रमुख एवं प्रतिनिधिको सहभागीता हुने नेपाली सेनाले जनाएको छ ।
शान्ति स्थापनाका सिलसिलामा ६८ नेपाली सैनिकले वीरगति प्राप्त गरेका छन् भने ६६ गम्भिर घाइते भएको सेनाको तथ्यांक छ । शान्ति सेनामा धेरै सङ्ख्या पठाउने मुलुकको सूचिमा नेपाल दोस्रो स्थानमा छ ।
राष्ट्रसङ्घबाट माग भए नेपालले १० हजारको सङ्ख्यामा सैनिक पठाउन सक्ने प्रतिबद्धता जनाइसकेको छ । विश्वका राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध कायम गरी अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा स्थापना गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको स्थापना २४ अक्टोबर १९४५ मा भएको हो ।
नेपालले सन् १९५५ डिसेम्बर १४ अर्थात् विस २०१२ साल मङ्सिर २९ गते संयुक्त राष्ट्रसङ्घको सदस्यता पाएको हो । हाल राष्ट्रसङ्घका १९३ सदस्य र दुई पर्यवेक्षक मुलुक छन् ।
नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी पठाएर योगदान पुरयाउँदै आएको छ ।