काठमाडौँ । नेपाल प्रहरीमा लामो समयसम्म जागिरे जीवनबाट पेन्सनर भए पनि शक्ति र ठाँटको जीवन चलाउने पात्रहरू बढ्न थालेका छन्। संगठनमा देखिएको शक्तिको आशक्तिलाई सेवा निवृत्त भएपछि उनीहरूले राजनीतिमार्फत फेरि सुरु गर्न थालेका छन्।
प्रहरी महानिरिक्षकमा बढुवाको किचलो भएपछि तत्कालिन डीआईजी नवराज सिलवालले राजनीतिक बाटो रोजे। उनलाई नेकपा एमालेले ललितपुर–१ बाट उम्मेदवार बनायो र सिलवालले चुनावमा जित निकाले।
यस्तै, सोही बेला केही घन्टाका लागि महानिरिक्षकको नियुक्ति पाएका जयबहादुर चन्द अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त छन्। उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारका बेला कांग्रेस कोटामा सदस्य नियुक्त गरिएको थियो।
पूर्वडीआईजी रमेश खरेल राजनीति दल गठनमा लागेका छन्। उनी नेपाल सुशासन अभियान चलाइरहेका थिए। सोही अभियानलाई उनले पार्टीका रुपमा गठन गर्न लागेका हुन्।
उनका पालामा प्रहरी महानिरिक्षकमा सर्वेन्द्र खनाललाई नियुक्त गरेपछि राजीनामा गरेका थिए। आवेशमा आएर राजीनामा गरेका खरेलले शक्ति आर्जनका निम्ति राजनीतिक बाटो रोजेका हुन्।
उता, एमालेसँग सन्निकट रहेको पाइएका पूर्वमहानिरिक्षक खनाल पनि राजनीतिक दल गठनको अभियानमा लागेका छन्। उनलाई सेवा निवृत्त भएपछि सांसद अपहरणमा संलग्न भएको भनी अभियोग लागेको थियो।
‘राजनीतिमा लाग्नु भनेको शक्तिको आशक्तिमा रहीरहनु हो। लामो समयसम्म सरकारी सेवा गरेका मानिस राजनीतिमा किन आउनु पर्छ र? कुनै विज्ञका रुपमा पुस्तक प्रकाशन वा अनुभवका आधारलाई एउटा कुशल पथ प्रदर्शक बन्न सकिँदैन र?’, सेनाका एक पूर्वजर्नेल भन्छन्,‘आर्मीमा यसरी राजनीतिमा आउने कल्चर छैन। आर्मी अफिसर त्यसरी आउनु हुन्छ भन्ने लाग्दैन।’
राज्यको पेन्सन र अफिसर तहकालाई सरकारी सुविधा सेवा निवृत्त हुँदा पनि दिने चलन छ। राज्यको सुविधा लिएर फेरि राजनीतिक शक्तिका रुपमा उदय हुन्छु भन्ने अधिकारीबाट परिवर्तन सम्भव नहुने बरु, उनीहरुको आशक्ति र आत्मरतीको खेलमात्र हुने कतिपयको बुझाई छ।
सशस्त्र प्रहरीका पनि कतिपय पूर्वअधिकारीहरु राजवादी अथवा अन्य अभियान र राजनीतिक दलमा जोडिने गरेका छन्।