काठमाडौं । हुम्लाको हिल्सा र लिमीको पदयात्रामा गएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीयसहित १२ जना लिमी क्षेत्रको तुम्लिङमा फसेका छन् ।
नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा गत आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा फसेको स्थानीय प्रशासनले जनाएको छ ।
बाक्लो हिमपातका कारण उनीहरुको उद्दार हुन सकेको छैन । हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरुको उद्दार हुन नसकेको हो ।
गत असोज २२ गते सिमकोटबाट हिल्सा हुँदै लिमीको पदयात्रामा गएका टोली र पदयात्रापछि टोली न्यालु लेक हुँदै पैदलमार्गबाट सिमकोट आउने क्रममा थियो ।
न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द हुदा स्थानीय नागरिक तथा पर्यटकलाई आवतजावतमा समस्या भएको छ ।
उद्धारका लागि हेलिकोप्टरको व्यवस्था गर्न गृहमन्त्रालयलाई पत्र पठाएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए ।
प्रजिअका अनुसार आज पनि मौसम सफा नभएकाले उद्धारमा कठिनाइ भइरहेको जानकारी दिए ।