बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य, नयाँ मुख्यमन्त्री चयनकालागि सत्ता गठबन्धन दलको बैठक बस्दै

बिहिबार, कार्तिक ४ २०७८

काठमाडौं । बागमती प्रदेशको सत्ता राजनीतिको आज छिनोफानो हुदै छ । नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेकी मुख्य मन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिएर आफ्नो परिक्षण गर्ने तयारी गरेकी छन् ।

प्रदेश संसदमा अल्पमतमा रहेको बुझ्दा बुझ्दै पनि मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । शाक्यले गएको भदौ २ गते नेपालको पहिलो महिला मुख्यमन्त्रीका रूपमा शपथ लिएकी थिइन्। नेकपा एमाले विभाजन भएपछि शाक्यलाई विश्वासको मत लिनै पर्ने संवैधानिक वाध्यता आइ परेको हो ।  दल विभाजन भएको मितिले ३० दिनभित्र सदनमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाले शाक्यलाई बाध्य बनाएको हो ।

बागमती प्रदेशमा सभामुखसहित १०९ सांसद छन् । एमालेका तर्फबाट एकल बहुमतका आधारमा शाक्य मुख्यमन्त्री बनेकी थिइन्। पार्टी विभाजन पछि अब एमालेमा ४३ सांसद मात्रै छन् । शाक्यलाई सरकार टिकाउन ५५ सांसद चाहिन्छ ।  तर त्यो सम्भावना कम छ। विपक्षी गठबन्धनमा माओवादी केन्द्रसँग २३, नेपाली कांग्रेससँग २२, नेकपा (एकीकृत समाजवादी) सँग १३ र जनता समाजवादीसँग १ गरी ५९ सांसद छन् ।

उनीहरुले शाक्यलाई विश्वासको मत नदिने र नयाँ सरकार बनाउने घोषणा गरिसकेका छन्। यसकालागि सत्ता गठबन्धन दलको बैठक आजै बस्दै छ । सत्ता गठबन्धन दलबीच यसअघि भएको सहमति अनुसार नयाँ मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सहयोग गर्ने सम्झौता भएको थियो ।  

शाक्यलाई एमाले बाहेक तीन मत रहेको विवेकशील साझा पार्टीले पनि  विश्वासको मत नदिने बताएको छ ।