शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

गठबन्धनको छैन भर, कांग्रेस नेता पौडेललाई एमालेको डर

बुधबार, कार्तिक ३ २०७८

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावसम्म नै सत्तारुढ गठबन्धन जारी राख्ने प्रस्ताव अघि सारेका छन्। तर, गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका अधिकांश नेता चुनावमा अन्यसँग मिलेर जान नसकिने बताउँछन्। 

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवालाई कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलदेखि गगनकुमार थापासम्मले चुनावी मैदानमा रुखभन्दा बाहेक अन्य चुनाव चिन्हमा मत हाल्ने गरी नजाने बताएका छन्। 

चितवनमा त अझ जिल्ला सभापति जितनारायण श्रेष्ठले त्यस्तो अवस्था लाद्न खोजिए विद्रोह नै हुने चेतावनी दिएका थिए। उनले महामन्त्री डा. शशांक कोइरालामार्फत सभापति देउवालाई त्यस्तो अवस्था नबनाउनका लागि सुझाव नै पठाएका थिए। 

नजिकिन थालेको चुनावको तयारी पनि व्यापक रुपमा भइरहेको छ। यसैक्रममा बरिष्ठ नेता पौडेलले सत्ता गठबन्धनका अन्य दलले धोका दिने भन्दै कांग्रेसको अहिले पनि प्रमुख प्रतिस्पर्धी एमाले र त्यसका नेतृत्वकर्ता केपी शर्मा ओली नै रहेको बताएका थिए। 

‘हामीले अहिले धेरै कुरा सोच्ने बेला होइन, अन्य दलको दम छैन। हाम्रो मुख्य प्रतिष्पर्धी एमाले नै हो, उसैलाई जित्ने धेयका साथ तयारी गर्नुपर्छ’, पौडेलले कार्यकर्तासँगको भेटमा हालै भनेका थिए,‘कांग्रेस एक्लै मैदानमा उत्रिनेगरी तयारी गर्नुपर्छ।’

अघिल्लो चुनावमा पनि माओवादीले धोका दिएको र यस पटक पनि त्यस्तो हुन सक्ने सम्भावना रहेको पौडेलको बुझाई छ। सत्तामा हुँदाहुँदै एमालेसँग मिलेर कांग्रेसलाई खुम्च्याउने रणनीति प्रचण्डले लिएका थिए। 

अहिले पनि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी चुनावी अवसरमा एमालेसँग मिल्न सक्ने सम्भावना रहेको कांग्रेसका धेरै नेताको बुझाई छ। ‘अहिले सरकारमा रहँदा मात्र यो अवस्था आएको हो, यीनिहरु पछि मिल्न सक्छन्। माओवादी र उसले तयार पारेको गठबन्धनको भर छैन, एमालेसँग माधवकुमार नेपाल मिल्छन् हामी उनीहरूसँग लड्ने हो’, एक नेताले भने।