काठमाडौं । पहिरोमा पुरिएका पाँचथरका विभिन्न स्थानमा ५ जनाको मृत्यु भएको छ । सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गाँउपालिकामा खसेको पहिरोले पुरिदा ५ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया आमा ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
कार्यालयका अनुसार मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको मृत्यु भएको छ भने जिल्लामा २ जना बेपत्ता अझै बेपत्ता छन् ।
पहिरोले मेची राजमार्गको इलाम–फिदिम र फिदिम–ताप्लेजुङका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ ।