काठमाडौं । निरन्तरको वर्षाले मुख्य राजमार्ग तथा विभिन्न जिल्लाका सडक अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका गरी विभिन्न ९ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका हुन् ।
सिन्धुली, म्याग्दी, दैलेख, जुम्ला, कैलाली, डोटी, अछाम, बझाङ, बाजुरालगायतका जिल्लामा यातायात सेवा प्रभावित भएको छ । जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, धनगढी–डडेलधुरा सडक, कर्णाली राजमार्ग, वीपी राजमार्ग, नाग्मा–मुगु सडक, भीमदत्त राजमार्ग, चौखुट्टे–बाजुरा–अछाम सडक बन्द छ । बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक बगाउँदा कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड पनि अवरुद्ध भएको छ ।
लेउतीको बाढीले झण्डै २ सय मिटर सडक बगाएको छ । वैकल्पिक सडक बनाएर सडक खुलाउने प्रयास गरिए पनि अझै समय लाग्ने बताइएको छ । सडक विभागले वर्षाले बिगारेका सबै राजमार्ग र सडक पुर्ननिर्माणको काम तत्काल सुरु हुने जनाएको छ । सडक खुलाउन सेना, प्रहरी र सडक विभागको टोली खटाइएको छ । निरन्तर पानी परेका ठाउँमा भने सडक खुलाउन समस्या भएको छ ।