शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पश्चिमको झरी पूर्वी भेगमा सर्दै, कहिले खुल्ला मौसम ?

बुधबार, कार्तिक ३ २०७८

काठमाडौं । दुई दिनदेखि लगातार परेको पानी मुलुकका पूर्वी भेगतर्फ सर्दै गएको छ । कर्णाली र सुदुर पश्चिममा भने आजबाट पानी पर्ने क्रम कम हुने मौसमवीद्ले बताएका छन् ।  प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका एक दुई ठाउँमा भने अझै ठूलो पानी पर्ने छ ।  

प्रदेश १ का केही ठाउँमा आज पनि लगातारजसो झरी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले   हिजोको भन्दा आज पानी  कम पर्ने पूर्वानुमान गरेको छ ।

महाशाखाका अनुसार भोलिदेखि पानी पर्ने क्रम बिस्तारै कम हुदै क्रमशः मौसम खुल्दै जाने छ । भारतको विहार र उत्तर प्रदेश आसपासमा रहेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभाव परेकाले गएको आइतबारदेखि मुलुकभर लगातार पानी परिरहेको छ । सामान्यतया अक्टोबर, नोभेम्बर र प्रि मनसुनको समयमा बंगालको खाडीमा चक्रवात विकास हुने समय भएकाले यो समयमा धेरै पानी पर्ने मौसमविद्ले बताएका छन् ।

अहिलेको मौसमी प्रणालीले चक्रवात विकसित हुन नसके पनि लगातार पानी पारिरहेको छ । महाशाखाले मौसम सम्बन्धी जानकारी विभिन्न माध्यमबाट लिएर मात्र यात्रा गर्न र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।

मौसम सम्बन्धी प्राप्त जानकारी पालना गरे क्षति न्यूनीकरणमा सहयोग पुग्ने भएकाले लापरबाही नगर्न मौसमविद्को आग्रह छ ।