शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

वर्षाका कारण सेती र महाकाली नदी उर्लिए, पश्चिम तराईका अधिकांस स्थान डुबानमा

मंगलबार, कार्तिक २ २०७८

काठमाडौं । वर्षाका कारण डोटीको सदरमुकाम सिलगढीसहित त्यहाँका दुई जिल्ला अछाम तथा बाजुरा जोड्ने सेती नदीमाथिको मोटर पुल खतरामा परेसँगै त्यहाँको जनजीवन प्रभावित भएको छ। तीन दिनदेखिको लगातारका वर्षाका कारण नदीमा पानीको बहाव एकाएक बढेपछि सो पुल भएर सञ्चालन हुने यातायात सेवा अहिले बन्द गरिएको छ ।  

नदी आसपासका बस्तीमा खतरा बढेको भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले सबै नागरिकलाई आग्रह गरेको छ। सेती नदीमा आएको बाढी पुलमाथि पुग्न थालेको छ ।  बाढीले पुल छोएपछि बिहानदेखि सो पुलमा सवारी साधन आवतजावतमा रोक लगाइएको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।

डोटीमा अहिले पनि भीषण बर्षात भइरहेको छ । सेती नदीमा बाढी आएका कारण नदी आसपासका बस्ती बानीडुग्रीसैन, गोपघाट, बारपाटा, सिरखोलीसैन, कालागाढ, रामपुर, दिपायल, घोल्तडा, भागेतडा, कैलडा तथा नारीदाङका स्थानीयवासी त्रसिद बनेका छन्। वर्षाकै कारण यहाँका विभिन्न ठाउँमा पहिरो गएको छ भने एक दजर्नभन्दा बढी ग्रामीण सडक अवरुद्ध भएका छन्। 

त्यस्तै महाकाली नदीमा पानीको बहाव उच्च बनेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका क्षेत्रका बस्ती डुबानमा परेका छन्। दुई दिनदेखिको अविरल वर्षापछि महाकाली नदीको पानीको बहाव उच्च भएपछि तटीय क्षेत्र नजिकका सबै बस्तीमा बाढीको पानी पसेर डुबान भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार  भीमदत्त नगरपालिकाको महाकाली तटीय क्षेत्रका ब्रह्मदेवदेखि झोलुङ्गे पुलसम्मको बस्तीमा बाढीको पानी पसेको छ। दोधारा चाँदनी नगरपालिका क्षेत्रका तटीय क्षेत्रका बस्ती समेत जलमग्न भएका छन्। बाढी प्रभावति क्षेत्रमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली राती देखि नै उद्धारमा खटिएको छ।

यता, कालीकोटको राम्नेमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । महावै गाउँपालिका वडानम्बर ७ राम्नेकी १८ वर्षिया स्मृती अधिकारीको मृत्यु भएको हो ।
पहिरोले घर भत्किँदा अधिकारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

बेमौसमी वर्षाका कारण बाली भित्र्याउने तयारीमा रहेका किसानलाई सास्ती भएको छ । तराईका अधिकांस जिल्लामा यतिबेला धानबाली भित्र्याउने बेला हो ।  धान खेतमै डुबेपछि किसानहरु चिन्तित बनेका छन् ।  अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ ।