काठमाडौं । नेपालीको महान पर्व, बडादसैँ धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ।
आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ आजै सकिने छ ।
माता दुर्गाका तीनवटा रूपमध्येको एक रूप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ। घटस्थापनामा उमारिएको जमरालाई आजै नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।
कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोली रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले भोलि बुधबार परेको हो ।
कार्तिक स्नान र आकाशदीपदान पनि बुधबारदेखि नै सुरु हुने समितिले जनाएको छ।