काठमाडौं । बंगलादेशमा दुर्गा पूजा समारोह र मन्दिरमा भएको हमलापछि देशका विभिन्न ठाउँमा हिंसा भड्किएको छ । ठाउँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रदर्शनका क्रममा आज ढाकामा थप एकजनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
राजधानी ढाकामा हिन्दू समुदायका घर पसललाई निशाना बनाएर आक्रमण भइरहेका खबरहरुमा उल्लेख छ । यस्तै कयौँ गाडीमा तोडफोड र आगजनी भएका छन् । प्रदर्शनकारीले भारतविरोधी नारा लगाएका छन् ।
उनीहरुले बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भारतसँग झुक्दै गएको आरोप समेत लगाएका छन् ।
गएको बुधबार एक दुर्गा पूजा समारोहमा कुरानको अपमान भएको हल्ला समाजिक सञ्जालमार्फत फैलिएपछि हिंसा सुरु भएको बीबीसीले जनाएको छ । सोही दिननै त्यहा ४ जनाको मृत्यु भएको थियो ।
हिंसा फैलिएपछि गृह मन्त्रालयले २२ वटा जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
प्रधानमन्त्री हसिनाले घटनामा संलग्नलाई कारबाही हुने बताउदै आएकी छन् । उनले संयमितता अपनाउन पनि आग्रह गरेकी छन् ।