काठमाडौं । बडादसैँको मुख्य दिन विजयादशमीका अवसरमा आज बिहानको साइतमा घर घरमा मान्यजनबाट टीका, जमरा ग्रहण गरेसँगै सडक बजारमा चहलपहल बढ्न थालेको छ ।
केहि दिन यता काठमाडौंका सडक बजार सुनसान थिए । टिकाको दिनसँगै सडकमा ठूलाबडाका आशीर्वाद लिन जानेको चहलपहल देखिन थालेको छ ।
घरमा टीका, जमरा ग्रहण गरेर मामाघर, ससुरालीलगायत आफूभन्दा ठूला मान्छेको हातबाट टीका थाप्न जानेको चहलपहल सडक एवं सार्वजनिक यातायातमा देखिन थालेको हो । यो सँगै महाअष्टमी र महानवमीमा सुनसान भएको राजधानीमा सार्वजनिक र निजी यातायात केही बढी गुड्न थालेका छन् ।
दशैँको साइतको टीका लगाएर आफन्त र मान्यजनको हातबाट टीका लगाउन जानेहरुको सडकमा चहलपहल सुरु भएको छ । दशैँअघि लाखौँ मानिस उपत्यका बाहिर गएकाले केही दिन सुनसान बनेको काठमाण्डौका सडकमा आज टीकाको साइतपछि भने चहलपहल बढेको हो । निधारमा रातो टीका लगाएका मानिसहरु सडकका देखिएका छन् ।
आजदेखि कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक २ गतेसम्म टाढा टाढा रहेका मान्यजनकहाँ पुगी नवदुर्गा भवानीको प्रसादस्वरुप टीका र जमरा ग्रहण गर्ने क्रम जारी रहन्छ ।
पूर्णिमासँगै टीका लगाउने क्रम पनि अन्त्य हुन्छ । कोजाग्रत पूर्णिमाका अवसरमा त्यस दिन राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो बडादसैँ अर्थात् दुर्गा पक्ष समाप्त हुनेछ ।