काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको पावन अवसरमा टीका ग्रहण गरेकी छन् ।
भण्डारीले शीतल निवासमा शुभसाइतमै दशैंको टीका लगाएकी हुन् । राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डे र बडागुरु खेमराज ढकालको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
त्यस्तै,
प्रधानमन्त्री शेरबहादुर देउवाले गुरु टिकाराम घिमिरेबाट टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् । आफुले टिका ग्रहण गरे लगत्तै प्रधानमन्त्री देउवाले श्रीमती डा. आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिए ।

प्रधानमन्त्रीको निजी सचिवालयले जनाएअनुसार कोभिड–१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिनुभएको थियो ।
यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम राखिएको छैन । कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको थियो ।
त्यस्तै, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि दशैंको टीका साइतमै लगाएका छन् ।
उनले ९२ वर्षीय बुवा भोजप्रसाद भट्टराईका हातबाट टीका ग्रहण गरेका हुन् । भट्टराईले टीका ग्रहणपछि सामाजिक सञ्जालमा परिवारको फोटो सार्वजनिक गरेका छन् ।
