काठमाडौं । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का आज स्वदेश फर्किएका छन्।
गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्रीको निम्तोमा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री खड्का गत असोज २२ गते बेलग्रेड गएका थिए । बेलग्रेडमा गत सोमबार र मंगलबार असंलग्न राष्ट्रहरुको उच्चस्तरीय बैठक सम्पन्न भएको थियो ।
मन्त्री खड्काले स्वदेश फर्किएलगत्तै आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रेस कक्षमा बैठकबारे संचारमाध्यमसँग आफ्नो भ्रमण सफल र फलदायी रहेको दाबी गरेका छन् ।
असंलल्न आन्दोलनका सयभन्दा बढी सदस्य राष्ट्रको सहभागिता रहेको सो विशेष समारोहमा परराष्ट्रमन्त्री डा खड्काले असोज २५ गते सम्वोधन गरेका थिए । सम्बोधनमा उनले असंलग्न आन्दोलन मञ्चलाई वर्तमान विश्वमा देखा परेका बढ्दो जातीय तथा अन्तर–राज्य द्वन्द्व, हिंसात्मक अतिवाद, अन्तर्राष्ट्रिय आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तिय जोखिम, भूराजनीतिक जटिलता र हातहतियारको होडबाजी लगायतका विषयलाई उठाएका थिए ।
वैठकमा धनी र गरिब राष्ट्रबीचको बढ्दो असमानता, इन्धन तथा खाद्य सङ्कट र कोभिड–१९ को महामारीले ल्याएका चुनौती जस्ता विषय उठाएको उनले बताए ।
साथै असंलग्न आन्दोलनको स्थापनाकालदेखि नै नेपाल त्यसको सदस्यको रुपमा सक्रिय रहँदै आएको र असंलग्नताको सिद्धान्तलाई नेपालको संविधानले प्रमुख नीतिको रुपमा अंगीकार गरेको विषयलाई आफुले जोडदार रुपमा उठाएको उनको भनाई थियो ।