शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

राष्ट्रप्रमुखले गर्ने पूजाको परम्परा धान्न राष्ट्रपति पुगिन् काभ्रेको पलाञ्चोक भगवतीको मन्दिर

बुधबार, असोज २७ २०७८

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती मन्दिर पुगेर पूजाअर्चना गरेकी छन् । 

पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले  करिब दश मिनेट पूजा गरेकी हुन् । राष्ट्रपति भएपछि सो मन्दिरमा उनले पूजा गरेको यो तेस्रो पटक हो ।  गत वर्ष कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण मन्दिरमा हुने आजापूजा रोकिएको थियो । 

राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा  छ । सोही परम्परालाई धान्न राष्ट्रपति भण्डारी पलाञ्चोक भगवतीको मन्दिर पुगेकी हुन् । 

हेलिकप्टरमार्फत पाँचखालस्थित नेपाली सेनाको शान्ति तालिम केन्द्रमा अवतरण गरेकी राष्ट्रपतिलाई कडा सुरक्षाकासाथ करिब पाँच किलोमिटर दुरीमा अवस्थित मन्दिरसम्म पुरयाइएको थियो । 

करिब १७ सय वर्षअघि अर्थात् सम्वत् ४२५ मा मानदेव प्रथमको पालामा स्थापित पलाञ्चोक भगवती, नक्साल भगवती र शोभा भगवती दिदीबहिनीमध्ये पलाञ्चोक भगवती ठूली दिदी हुन् भन्ने लिच्छवीकालीन किंवदन्तीमा उल्लेख भएको पाइन्छ ।

यो मन्दिरमा विशेष गरी दशैँ, माघे–सङ्क्रान्ती र वैशाख पूर्णिमामा भक्तजनको घुइँचो हुने गर्दछ ।