काठमाडौं। काठमाडौं महानगरपालिकाको कार्यालयले आफ्ना लागि सुविधासम्पन्न भवन निर्माणको योजना अघि बढाएको छ।
भूमिगत तलासहितको ८ तले भवनको सोमबार महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गरे। शिलान्याससँगै निर्माण अघि बढेको घोषणाा गरिएको हो। वातावरण विभाग रहेको टेकुको करीब ६ रोपनी क्षेत्रफलमा भवन बनाउन लागिएको हो।
प्रमुख शाक्यले आफ्नो कार्यकालमा सबै वडाका वडा कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई सम्पन्न गर्ने प्रतिबद्धता अनुसार नै उक्त भवन शिलान्यास गरेको बताए। ‘हामी निर्वाचित भएर आएपछिको पहिलो बैठकमा काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालय र सबै वडाका कार्यालय भवनको पुनर्निर्माण र नयाँ निर्माणलाई प्राथमिकतामा राखेर काम गर्छौ भनेर घोषणा गरेका थियौं,’ शाक्यले भने।
‘सेवाग्राहीले सेवा लिने ठाउँ मैत्री हुनुपर्छ भनेर अहिलेको भवनमा केन्द्रीय कार्यालय बनाउन चाहेका थियौं। विभिन्न कारणले त्यहाँ केन्द्रीय भवन बनाउन सम्भव भएन। आज केन्द्रीय भवनको यहाँ शिलान्यास भयो,’ उनले भने। हरिभवनलाई बागदरबार भनेर विवाद झिक्दै त्यहाँ भवन निर्माण गर्न नदिएकोप्रति पनि उनले गुनासो गरे ।
महानगरपालिकाका अनुसार करीब ६ रोपनी क्षेत्रफलमा बन्ने सो भवनको भूमिगत तलामा ३० वटा गाडी र ८० वटा मोटरसाइकलका लागि पार्किङको व्यवस्था गरिएको छ । भूकम्प प्रतिरोधी भवनको भवन मापदण्ड अनुसार वरीपरी ५ मिटर छाडिएको छ भने भूमिगत तलामा भविष्यमा थप २५ वटा गाडी मेकानिकल प्रविधिबाट थप गर्न सकिने छ ।
काठमाडौँ महानगरपालिका सहरी योजना आयोगमा उपाध्यक्ष सरोज बस्नेतले काठमाडौँ महानगरपालिकाको पहिचान तथा वास्तुशैलीलाई ध्यानमा राख्दै समय सापेक्ष ढंगबाट सो भवनको डिजाइन तयार गरिएको बताए। ‘काठमाडौँ महानगरपालिकामा प्रचलित परम्परागत चोकको अवधारणामा आधारित डिजाइन तयार गरेका छौँ,’ बस्नेतले भने, ‘प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन,कर्मचारी,आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ । त्यसैगरी पहुँचयोग्य शौचालयको सुविधा र विपदको समयमा प्रयोग गर्न सकिने गरि आपतकालीन मार्ग तथा सुरक्षित भर्याङ रहेका छन् ।’
त्यसैगरी आकाशे पानी संकलन तथा पर्याप्त फिल्टरेशन प्रणाली सहितको रिचार्ज पिट समावेश गरिएको पनि महानगरपालिकाले जानकारी दिएको छ । ‘भवनको जमिन तलादेखि सात तलासम्म कार्यालय प्रयोजनका लागि प्रयोग हुने छ भने आठौँ तलामा २ सय जना क्षमताको र १ सय जना क्षमताको छुट्टाछुट्टै हल निर्माण गरिने छ,’ काठमाडौँ महानगरपालिकाका वरिष्ठ इन्जिनियर प्रेमबहादुर श्रेष्ठले भने, ‘भवनको मोहोडा आधुनिक शैलीको हुनेछ । यो भवन ९२ हजार ६८ वर्गफुटको निर्माण हुँदैछ ।’
भवन अपाङ्ग र जेष्ठ नागरिकमैत्री हुनेछ । ‘अपाङ्गता भएका र जेष्ठ नागरिकका लागि १० जना क्षमताका दुई वटा लिफ्ट हुनेछ,’ उनले भने,’ ‘यो भवन २०८० असोज मसान्तासम्ममा सम्पन्न गर्ने गरी ठेक्काको जिम्मा समानान्तर निर्माण सेवा प्रालीले पाएको छ ।’ उनका अनुसार भवनको कार्यादेश ६९ करोड ५८ लाख १९ हजार ३ सय ५९ रहेको छ । भवनको डिजाइन सहरी योजना आयोग र सिनर्जी इन्जिनियरिङ प्रालीले तयार पारेको हो।
यो भवन निर्माणका लागि ठेक्का पाएको समानान्तर निर्माण सेवासंग मिलेमत्तोमा ठेक्का लगाएको भन्दै आरोप लाग्ने गरेको छ।