बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

विदेशी बैंकले पत्याएनन् नेपालका बैंकलाई, ४ वर्षमा सात बैंकलाई जम्मा २३ अर्ब ऋण

आइतबार, असोज २४ २०७८

काठमाडौँ । बजारमा तरलता अभाव भएपछि त्यसलाई सहज गर्न नेपाल  राष्ट्र बैंकले ४ वर्ष अघि बैंकहरुलाई विदेशी बैंक तथा वित्त संस्थाहरुबाट ऋण लिने सुविधा दिएको थियो । तर, अहिलेसम्म जम्मा ७ वटा बैंकले मात्रै यस्तो ऋण ल्याउन सकेका छन् ।

विदेशी बैंक तथा वित्त संस्थाले नेपालका बैंकहरुलाई पत्याउन सकेको देखिदैन । जसका कारण बिदेशी बैंक तथा वित्त संस्थाबाट ऋण आउन सकेको छैन । नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंक अफ काठमाडौ, माछापुच्छ्रे, लक्ष्मी, ग्लोबल, सनराइज, एनएमबी र  सानीमा बैंकले मात्रै यस्तो  बिदेशी ऋण  ल्याउन सफल भएका छन् ।  

यसबाहेक २० वटा बैंकले विदेशबाट ऋण ल्याउन सकेका छैनन् । देशको क्रेडिट रेटिङ नभएका कारण पनि विदेशबाट ऋण ल्याउन बैंकहरुलाई समेत कठिन भएको छ ।

यस्तो बिदेशबाट ल्याउने ऋण गत असारको तुलनामा २ अर्ब घटेको  समेत देखिन्छ । किनभने गत असारमा यस्तो ऋण २५  अर्ब रहेको थियो ।  अहिले २३ अर्ब  पुगेको नेपाल राष्ट्र बैंक बताउँछ  ।  

 नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋण ल्याउन पाउने व्यवस्था गरेको छ। यस्तो ऋण ल्याउन राष्ट्र बै.कले भने अनुमति दिनुपर्ने व्यवस्था छ ।

यसरी बैंकहरुले विदेशी ऋण ल्याउने सँगै अन्य स्रोत व्यवस्थापन गर्न नसक्दा बैंकहरुमा तरलता अभाव देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले विदेशी ऋणसँगै ऋणपत्र बिस्तार र निक्षेप संकलन ठूलो मात्रामा बढाउन नसक्दा बैंकहरुमा तरलता अभाव चुलिएको छ।

नेपाल राष्ट्र बैंकले बुधबार मात्रै २० अर्बको रिपो जारी गर्याे ।  तरलता अभाव चुलिएपछि राष्ट्र बैंकले असार यता मात्रै पटकपटक गरेर १ सय ३० अर्बको रिपो जारी गरिसकेको छ । तरपनि बैैंकहरुमा तरलता अभाव हुन छाडेको छैन । तरलता अभाव टार्नका लागि राष्ट्र बैकले बैंकहरुलाई बिदेशबाट ऋण ल्याउने मात्रै होइन आफ्नो प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋणपत्र जारी गर्न पनि  दियो ।

ऋणपत्र पनि उल्लेख्य मात्रामा बढाउन सकेका छैनन् । तर महामारीपछि पुरानै अवस्थामा फर्कन खोजेको अर्थतन्त्रका कारण बजारमा ठूलो मात्रामा लगानीयोग्य रकम अर्थात बैकको ऋणको माग भएको छ। निक्षेप संकलन भनेअनुसार स.ंकलन हुन सकेको छैन । जसलाई संकलन गर्न बैंकहरुबिच ब्याजदर बढाउने होडबाजी भएको छ ।