काठमाडौँ । नेपाली चाड दशैं नजिकिंदै जाँदा काठमाडौं उपत्यकाबाट बाहिरिनेको भिड दिनहुँ बढ्दै गएको छ । दशैंका लागि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रुले काठमाडौ उपत्यका छाडेका छन् । यो महिना शुरु भएदेखि अहिलेसम्म सात लाखभन्दा धेरै यात्रु बाहिरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जानकारी दिएको छ ।
गएको १ गतेदेखि घटस्थापनाको दिन २१ गतेसम्म फाट्टफुट्ट मात्रै गाउँघर गए पनि घटस्थापनापछि बाहिरिनेको संख्या ह्वातै बढेको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिए । अग्रिम टिकट बुकिङ खुलेको केही दिनसम्म यात्रु नपाए पनि घटस्थापनापछि यात्रुको चाप बढेको उनले बताएका छन् ।
गएको ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुलाइएको थियो । ११ गतेदेखि अहिलेसम्म साढे ५ लाखभन्दा धेरै काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ । फूलपाती र अष्टमीका दिन यात्रुको चाप अझ बढ्ने छ । गएको २४ घण्टामा मात्रै झण्डै ५० हजार जना यात्रु काठमाडौं उपत्यकाबाट बाहिरिएका महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्याङ्क छ ।
तथ्याङ्कअनुसार यो अवधिमा झण्डै ३५ हजार मानिस उपत्यका भित्रिएका छन् । यात्रुको चाप बढेसँगै काठमाडौं उपत्यकासँग जोडिएका नाकाहरुमा जाम बढ्न थालेको छ । विशेष गरी दुई नाका काठमाडौंको नागढुङ्गा र भक्तपुरको जगातीमा लामो जाम हुन थालेको छ ।
यी दुई नाकामा अहिले पनि जाम भएको ट्राफिक प्रहरीले जनाएको छ । दशैंमा यात्रा गर्ने यात्रुको सहजताका लागि नागढुङ्गादेखि नारायणघाटसम्मको सडक खण्डमा ठूला गाडी चलाउन रोक लगाए पनि यो पूर्ण रुपमा कार्यान्वयनमा आउन सकेको छैन । यसले गर्दा पनि जाम हुने गरेको छ ।