काठमाडौं । सरकारले गएको फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ ।
सरकारले भारतको सेरम इन्स्टिच्युटलाई २० लाख डोज खोपका लागि अग्रिम भुक्तानी गरेको थियो । जसमध्ये १० लाख डोज खोप आएको थियो भने बाँकी १० लाख डोज खोप भने ७ महिनादेखि आएको थिएन ।
खरिद गरेको सात महिनापछि बाँकी १० लाख डोज खोप नेपाल ल्याइएको हो ।
खरिदको खोप आएपछि मन्त्रालयले कोभिसिल्ड खोप एस्ट्राजेनेकाको पहिलो मात्रा खोप लगाएका व्यक्तिहरुलाई दिने तयारी छ ।
सो खोप सातै प्रदेशमा पठाउने गरी भण्डारण केन्द्रमा राखिएको छ । सरकारले यसै महिना भित्र ३३ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य पुरा हुने बताउँदै आएको छ ।