काठमाडौं । तालिबानले अफगानिस्तान कब्जा गरेपछि अमेरिकाले पहिलो पटक तालिबानसँग औपचारिक वार्ता गर्ने भएको छ ।
अमेरिका र तालिबानबीच आज र भोलि कतारको राजधानी दोहामा वार्तामा हुने तय भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । गत अगष्टमा विद्रोही तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले सबै सैनिक फिर्ता गरिसकेको छ ।
त्यस यता अमेरिकाको तालिबानसँग औपचारिक संवाद समेत भएको छैन । अफगानिस्तानमा तालिबान आएपछि भएको हिंसा र महिला तथा बालिकासहितको मानव अधिकार उलंघनका विषयमा दबाब दिने अमेरिकाको तयारी छ ।
त्यस्तै अमेरिकाले तालिवान सरकारमा समावेशी सरकार गठनका लागि पनि दबाब दिने बताएको छ । सँगसँगै अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकको स्वदेश फिर्तालाई मुख्य एजेण्डा बनाएको छ । अमेरिकाले तत्कालै तालिबान सरकारलाई मान्यता नदिने बताइसकेको छ ।