काठमाडौं । यसपालिको दशैं आजदेखि सुरु भएको छ । आश्विन प्रतिपदादेखि सुरु हुने दशैं, पूर्णिमासम्म १५ दिन, मनाउने गरिन्छ। दशैंको पहिलो दिन आज, घरघरमा दियो, कलश र गणेश स्थापना सहित घटस्थापना गरिन्छ।
पूजा कोठा वा दशैं घरमा, देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ। आज बिहानै चोखो ठाउँबाट बालुवा वा माटो ल्याउउने र गाईको गोबरले लिपेको पूजा कोठा वा दशैं घरमा, जमरा राखिन्छ । आज राखेको जमरा, दशमीको दिन टीका सँगै लगाइन्छ ।
जमरामा जौ बाहेक अरु अन्न रोप्ने शास्त्रीय विधि नभएको पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमको भनाइ छ । आजैको दिन घडा स्थापना गर्ने र त्यसैमाथि दुर्गाको पूजा आराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो ।
आज घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेटमा रहेको समितिले जनाएको छ ।
काठमाडौं हनुमानढोका दरबारो दशैं घरमा जमरा राख्दै आजैदेखि दुर्गा देवीको पूजा आराधना सुरु हुन्छ ।
दशैं घरमा, घटस्थापनापछि दैनिक बलि दिँदै पूजा आराधना गरिन्छ । यस वर्ष महानवमीका दिन हनुमानढोकाको कोतमा ५४ बोका र ५४ राँगा सहितको बलि दिइने भएको छ । कोरोना महामारीका कारण गत वर्ष बलि स्थगित गरिएको थियो ।
दशैं पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयका रुपमा लिइन्छ ।