काठमाडौँ l नेपाली सेनामा ‘जिरो टोलरेन्स’ अर्थात शून्य सहनशीलताको सिद्धान्त पालना गरेको र गराएको दाबीसहित अवकाश जीवनमा गएका अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू निकटलाई कसरी उन्मुक्ति दिन्थे भन्ने ठोस प्रमाण पर्दाफासले फेला पारेको छ ।
अवकाशप्राप्त प्रधानसेनापति थापाले आफू निकट एकजना प्रमुख सेनानीलाई प्रमाणित भएको भ्रष्टाचारबाट उन्मुुक्ति दिन कोर्ट अफ ईन्क्वाइरी (कोअई) लाई नै प्रलोभन र प्रभावमा पारेको यथार्थ उसको किर्ते प्रतिवेदनले बयान गरिरहेको हो ।
घटना सैनिक आवासीय महाविद्यालय, भक्तपुरको हो । विद्यालय सेनाका सन्ततिको उज्ज्वल भविष्यका लागि कल्याणकारी कोषबाट सञ्चालित भइरहेको छ । सोही विद्यालयमा भ्रष्टाचार भएको उजुरीपछि सैनिक मुख्यालय जंगी अड्डाले सहायक रथी प्रदीप केसीको कमाण्डमा कोअई गठन गरेको थियो ।
तर, त्यही कोअईको प्रतिवेदनमा सेनाका महासेनानी (मसे) भूपालमान अधिकारीसहित ३२ जना उपर कारबाही गरे पनि प्रमाणित भ्रष्टाचार गरेका प्रमुख सेनानी जीवन थापालाई उन्मुक्ति दिइएको हो ।
पर्दाफाससँग रहेको कोअईको प्रतिवेदनअनुसार विद्यालयको सम्पर्क अधिकृत रहेका प्रसे थापाले पर्खाल निर्माणका क्रममा ४५ लाख ७० हजार रुपैयाँभन्दा बढी आर्थिक अनियमितता गरेको भेटिएको थियो । तर, सहायक रथी केसीको बोर्डले प्रसे थापालाई तत्कालीन सेनापति थापा र कल्याणकारी योजना निर्देशनालयको दवाब र प्रभावमा उनले सेनाबाट अवकाश पाउनुअघिको मिति राखेर उन्मुक्ति दिएको हो ।
बोर्डको प्रतिवेदनअनुसार तत्कालीन सम्पर्क अधिकृत रहेका प्रसे थापा (ब्याच नम्बर–१८०१) ले विद्यालयको पेरिमिटर जम्मा ३७५ मिटर पर्खाल लगाउने अनुमानसहित कल्याणकारी कोष निर्देशनालयबाट स्वीकृति पाएका थिए ।
तर, उनले स्थलगत अध्ययनमा जम्मा २४० मिटरमात्र पर्खाल लगाएको भेटिएको थियो । यसमा समेत उनले स्वीकृत स्पेशिफिकेशन अनुसार गरेका थिएनन् । सहायक रथी केसीको बोर्डले प्रतिवेदनमा आफूहरुले स्थगलत अध्ययन र नापजाँच गरेको समेत उल्लेख गरेको छ ।
प्रसे जीवन थापाले पर्खाल लगाउन गरेको खर्च जम्मा ४९ लाख २८ हजार रुपैयाँ भए पनि उनले ठेकेदारलाई ९४ लाख ९८ हजार रुपैयाँ भुक्तान गरेका थिए । यो घटनामा उनले ४५ लाख ७० हजार रुपैयाँ आर्थिक अनियमितता ठहर गरेको बोर्डको प्रतिवेदनमा उल्लेख छ । स्रोत: पर्दाफास डटकम