काठमाडौँ । नेपालबाट अहिले दैनिक २९ सय ७७ मेगावाट आवर बराबरको बिजुली भारत निर्यात भइरहेको छ । जसबाट नेपाल विद्युत प्राधिकरणले दैनिक ७ लाख १४ हजार रुपैयाँ आम्दानी गरिरहेको छ ।
तर यस्तो निर्यात भारत सरकारले दिएको स्वीकृतिका आधारमा भने होइन । बिहार पावर एक्सचेन्जसँग भएको सहमति अनुसार भारतमा बिजुली पठाउने गरिएको हो । तर, भारतको स्वीकृती अहिलेसम्म नआएकाले प्राधिकरणले भारतको प्रतिस्पर्धि बजारमा भने पठाउन सकेको छैन ।
बिद्युत प्राधिकरणले गत चैतमा भारतको उर्जा मन्त्रालयमा बिजुली बेच्नका लागि अनुमति मागेको थियो । अनुमति मागेको ६ महिना बित्दासम्म भारतले यसमा स्वीकृति दिने कुनै आधार तय हुन सकेको छैन ।
गत फागुनमा भारत सरकारले अन्तरदेशीय विद्युत ब्यापार सम्बन्धी कार्यविधि बनाउँदै चिन लगायत अन्य मुलुकको लगानीमा बनेका आयोजनाको बिद्युत खरिद नगर्ने बताएको छ । जसका कारण प्राधिकरणले पहिलो चरणमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी र ४५ मेगावाटको भोटेकोसी आयोजनाको विद्युत भारतमा बेच्नेगरि प्रस्ताव गरेको हो । तर, आजका दिनसम्म भारत यसमा समेत सकारात्मक हुन सकेको छैन । सरकारले समयमै बिजुली बेच्नका लागि पहल गर्न नसक्दा जनताको लगानीमा बनेका आयोजनाको बिद्युत खेर जाने स्थिती आएको हो ।
अहिले पनि देशमा बिजुली भने खेर गइरहेको छ। बद्युत प्राधिकरणका अनुसार भदौ यता औसतमा दैनिक १५ सय मेगावाट आवर बिजुली खेर गइरहेको छ । अर्थात गत ४५ दिनमा मात्रै प्राधिकरणले ६७ करोड रुपैयाँ बराबरको बिजुली बेच्न नपाएर खेर पाल्नुपरेको छ।
असोज कात्तिक महिनामा खोलामा सफा पानी बहने भएकाले बिद्युत उच्च मात्रामा उत्पादन गर्न सक्ने समय हो । यहि समयमा फेरी चाडपर्व पर्ने भएकाले उद्योगबाट बिजुलीको माग ह्वात्तै कम कम हुन्छ । यतिमात्रै होइन अझ यो समयमा न पंखा चलाउनु पर्छे नत हिटर जसका कारण घरायसी ग्राहकबाट हुने मागमा पनि भारी गिरावट आउँछ । जसका कारण प्राधिकरणले भोग्नुपर्ने क्षती अबका दिनमा झनै बढेर जाने देखिन्छ ।
सरकारले समयमै बिजुली निर्यातका लागि पहल नगर्ने हो भने आगामी दिनमा प्राधिकरणले बिजुली बेच्न नपाएर क्षती ब्यहोर्दै जानु पर्नेछ ।