काठमाण्डौ – पौराणिक कथा रामायणमा रावणको भूमिका निर्वाह गर्ने चर्चित कलाकार अरविन्द त्रिवेदीको निधन भएको छ ।
सन् १९८० को दशकमा दूरदर्शनमा प्रसारित हुने रामानन्द सागरको सर्वाधिक लोकप्रिय धारावहिक रामायणका रावण त्रिवेदीको ८३ वर्षको उमेरमा गएराति निधन भएको हो । लामो समयदेखि स्वास्थ्य समस्या झेलिरहेका त्रिवेदीको निवासमै मृत्यु भएको बीबीसीले जनाएको छ ।
उनको आजै मुम्बइमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । विभिन्न धारावाहिक चलचित्रका साथै गुजराती सिनेमामा परिचित त्रिवेदीलाई रावणको भूमिकाले विश्वव्यापी बनाएको थियो । यसअघि उनको मृत्युको खबर सामाजिक सञ्जालमा अफवाह फैल्याइएको थियो ।
४० वर्षे लामो अभिनय यात्रामा उनले ३ सय भन्दा बढी सिनेमामा काम गरेका छन् ।