काठमाडौँ l गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुखलाई चाडपर्वको अवधिभर बिदामा नबस्न कडा निर्देशन दिएको छ ।
गृह मन्त्रालयको निर्देशनपछि अत्यावश्यक काम र गृह मन्त्रालयको अनुमति विना सीडीओसहित गृह मन्त्रालय मातहतका सुरक्षा प्रमुखले जिल्ला छाडेर अन्यत्र जान नपाउने भएका छन् ।
गृहको निर्देशनसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखलाई समेत चाडपर्वमा घर बिदामा नजान भनिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
चाडपर्वको समयमा सर्वसाधारणले २४ घण्टै ठाडो निवेदन दर्ता र गुनासो गर्न मिल्ने व्यवस्था मिलाउन समेत गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिँदै परिपत्र पठाएको छ । जिल्लाको अवस्था अनुसार पर्व सुरक्षा योजना बनाएर लागू गर्न समेत गृहले परिपत्रमा जनाएको छ ।
नेपालीका प्रमुख पर्व दशैं, तिहार, नेपाल संवत, छठ नजिकिन थालेका छन् । गृह मन्त्रालयको निर्देशनसँगै देशभरका जिल्लाको अवस्था अनुसार प्रहरी र सशस्त्रका जनशक्ति परिचालित हुने गरेर विशेष सुरक्षा योजना लागू हुने भएको छ । प्रमुख पर्वलाई लक्षित गरेर सबै जिल्लामा बजार अनुगमनलाई समेत बढाइएको छ ।