आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

प्रधानसेनापति शर्मालाई जर्नेलहरुको बढुवा सकस

बुधबार, असोज १३ २०७८

काठमाडौँ l नवदुलही हेर्ने अनौठो व्यग्रता गाउँघरतिर चल्छ । भर्खरै नेपाली सेनाको नेतृत्व लिएका तर कुनै स्पष्ट रुझान देखाइ नसकेका प्रधानसेनापति प्रभुराम शर्माको कदमलाई अहिले नेपाली सेनाभित्रको सकलदर्जा र बाहिर सबैतिर ठीक त्यही नजरियाले चासोपूर्वक हेरिँदैछ ।

अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाले सेनाभित्र उल्लेख्य सुधार गरेकाले उनी एउटा स्वभाविक दबाबमा छन् । आफ्नो कौशलता प्रदर्शन गरेर प्रधानसेनापति शर्मा पनि सैनिक नेतृत्व हाँक्ने मुडमा खडा हुँदै गर्दा काण्डैकाण्डवाला जर्नेलहरूको बढुवाका लागि नेपाल सरकार समक्ष सिफारिसबारे निर्णय गर्नुपर्ने अप्ठ्यारो परिस्थितिमा शर्मा उभिएको सैनिक श्रोत बताउछ ।

आउ“दो २०७८ असोज २७ गते नेपाली सेनाका रथी ईश्वर हमाल अवकास हुँदैछन् । उनको ठाउँमा मेजर जनरल सरोजप्रताप राणा प्रमोशनको लाइनमा रहेका छन् । उपरथी राणा नाताले पहिलाका चिफ पूर्णचन्द्र थापाका छोरीज्वाइँ हुन् । तर निकै विवादित । सरोजप्रताप राणा सहायक रथी हुँदा पनि उनको बढुवामा नागरिकताको काण्ड उजागर भयो ।

बढुवाका लागि पठाइएको फाइल रक्षा मन्त्रालयले फिर्ता पठाइदिएपछि राणा १० दिनको बिदा लिएर नवलपरासी गई २ वर्ष उमेर घटाएर सच्याइएको नागरिकता ल्याए र उनलाई उपरथीमा बढुवा गरियो । जबकि २०४१ साल पुस ११ गते उनले लिएको नागरिकतामा जन्ममिति केरमेट गरिएको सैनिक स्रोत बताउछ । उक्त नागरिकतामा उनको जन्ममिति २०२२ मंसिर १६ गते रहेको छ । दुइवटा नागरिकतासम्बन्धी विवादकै कारण उपरथी दीपक भारती पदोन्नतिबाट बन्चित भएका थिए ।

सरोजप्रताप राणालाई पहिलो पटक लिएको नागरिकता सच्याएर २०२३ सालको मिति राखेर अर्को लिएको बात् लागेको छ । बेलायतबाट रातारात झिकाएर शशी भवनबाट चिफले  सीडीओलाई फोन गरेर अर्को नागरिकता दिलाएको चर्चा उनको बढुवा नजिकिएसँगै आर्मी हेडक्वार्टरमा चल्छ । र, अहिले पनि चलेकै छ ।

सरकारी कागजात केरमेट गरेमा दुई वर्ष जेल सजाय हुने व्यवस्था अहिलेको कानूनमा छ । उनीमाथि लागेको अभियोग पुष्टि भएमा उनको बास दुई वर्ष जेलमा हुनेछ । तर यिनै विवादित पात्रलाई यसअघिका प्रधानसेनापति पूर्णचन्द्रले उपरथीमा प्रमोशन गरेका थिए । जसलाई पूर्णचन्द्रको कार्यकालको गलत कार्यहरूमध्येको एक मानिन्छ ।

भर्खरै सेनाको नेतृत्व लिएका प्रधानसेनापति प्रभुराम शर्माले आफूलाई सफल पार्ने हो भने यस्ता विषयमा उनले बोल्ड निर्णय लिनुपर्ने वहालवाला र अवकाशप्राप्त सैनिक जर्नेलहरू बताउँछन् । अग्निपरीक्षा समेत मानिएको यो प्रकरणमा प्रधानसेनापति प्रभुराम शर्माले कस्तो कदम चाल्छन् होला भन्ने जिज्ञासा रहेको छ । प्रष्ट भइसकेको छैन ।

‘दोहोरो नागरिकता लिएको आरोप लागेका उपरथी राणाको बढुवामा शर्मा निर्मम प्रस्तुत होलान् कि वा आँखा चिम्लिएर रथीमा बढुवाका लागि सिफारिस गर्लान् ? चासोपूर्वक अहिले नेपाली सेनाभित्र र सेनाबारे चासो राख्नेहरूका लागि प्रतीक्षाको विषय बनेको छ,’ एक जर्नेलले साँघुसँग भने ।

राणाजस्तै सहायक रथी बाबुराम श्रेष्ठको उपरथीमा प्रमोशनबारे पनि शर्माले निर्णय लिनैपर्ने अवस्था छ । तर उनी चाहिं  परिवन्दमा परेर सैनिक ऐन अनुसार  कारवाही भोगेका जर्नेल हुन् । सैनिक अनुशासन उल्लंघ गरेको केस लगाएर २७ बाहिनीमा कारबाही गरी नसियत गरिएका अधिकृत हुन् ।

स्टाफले फसाएको भनिए पनि १ वर्ष प्रमोशन कट्टा गरिएको थियो । जानकारहरू अहिले पूर्णचन्द्र प्रधानसेनापति थिए भने उनको बढुवा नहुने सुनाउ“छन् । तर, उपरथीमा बढुवाका लागि सहायक रथी बाबुराम श्रेष्ठको सिफारिस गर्नका लागि उनको नाममा सात दिने सूचना प्रकाशित भइसकेको छ ।

उता, यही बेला अब हुने मेजर जनरल बढुवामा आफ्नै सिपाही मारेको, आर्थिक हिनामिनामा कारबाहीमा परेर कोर्ट मार्शल भएका ब्रिगेडियर जनरलको दौडधुप पनि रोचक ढंगले चलेको हेर्डक्वार्टरतिर चर्चा छ । (साँघु साप्ताहिकमा खबर छ )