काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काले कोभिड महामारीसँग जुध्न खोप असामनतालाई कम गर्नु पर्नेमा जोड दिएका छन् । विकशित र गरिब मुलुकबीच खोपको पहुँचमा गहिरो खाडल रहेको औल्याउदै मन्त्री खड्काले आर्थिक प्रभाव भन्दा पनि मानिसको जीवन हितकालागि सोच्न आग्रह गरेका हुन् ।
संयुक्त राष्ट्रसंघको ७६ औं महासभालाई सम्बोधन गर्दै खड्काले महामारीका कारण आफ्ना प्रियजन गुमाएका विश्वभरका मानिसहरु प्रति समवेदना व्यक्त गरेका छन् । विश्वका ४५ लाख मानिसहरुले कोभिड १९ का कारण ज्यान गुमाएकोप्रति दुख व्यक्त गर्दै उनले महामारीको यो संकटले संसारलाई पीडामा पारेको बताए ।
विश्वव्यापी अर्थतन्त्रलाई ध्वस्त पारेको भन्दै मन्त्री खड्काले खोप असमानताको खाडलको अन्त्य गरेर विश्वलाई कोरोनामुक्त बनाउन ध्यानाकर्षण गराए । उनले कम आय भएका देशहरुमा प्रतिकूल सामाजिक आर्थिक प्रभाव छोडेर भ्याक्सिनलाई जनताको जीवनको हितको लागी सार्वजनिक सामानको रुपमा घोषणा गर्न आग्रह गरेका छन् ।
कोभिड १९ बाट उत्पन्न चुनौतीहरुको सामना गर्न राष्ट्रसंघले खेलेको भुमिकाको खड्काले प्रसंशा गरेका छन् ।
खड्काले सम्बोधनका क्रममा जनताको जीवन सरकारको पहिलो प्राथमिकता भएको बताउँदै हालसम्म नेपालका २० प्रतिशत जनतालाई कोभिड १९ विरुद्धको खोप लगाइसकेको जानकारी गराए ।
खड्काले ग्रीन हाउस ग्यास उत्सर्जनमा नेपालको भूमिका नगन्य भएपनि आफ्नो देशले जलवायु परिवर्तनको असर भने ठूलो भोगिरहेको बताए ।
नेपालले ६३ वर्षदेखि शान्ति, सुरक्षा र स्थायित्व प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघको शान्ति अभियानमा निरन्तर योगदान दिएको स्मरण गर्दै सबैभन्दा धेरै शान्ति मिसनमा सेना पठाउनेमा नेपाल पनि एक रहेको उल्लेख गरेका छन् ।
उनले ठुला अर्थतन्त्र भारत र चीनको नजिक रहेको नेपालले सबैसँग क्षेत्रीय सन्जाल विस्तारमा विश्वास राख्ने तर असंलग्न नीतिमा अडिग रहेको बताए ।
उनले मानव अधिकार उल्लंघनका घटनामा संलग्नलाइ आममाफी नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री खडकाले अफगानिस्तान र म्यानमार मामिलामा सत्ता सन्चालक अन्तरराष्ट्रिय समुदायसँग सम्पर्कमा रहन सुझाव दिएका छन् ।