काठमाडौँ । यही २०७८ साल असोज ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले राजनीतिक नियुक्ति पाएर विश्वका विभिन्न मुलुकमा राजदूतको जिम्मेवारी सम्हालिराखेका व्यक्तिहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सरकारले यो निर्णय गरेपछि विभिन्न कालखण्डमा राजनीतिकरुपमा विभिन्न मुलुकमा राजदूत नियुक्त भएका १२ जना व्यक्ति जिम्मेवारीबाट हटेर स्वदेश फर्किनुपर्ने स्थितिमा पुगेका छन् । सरकारको यो निर्णयबाट अघिल्लो वर्ष २०७७ को साउनमा विश्वको महाशक्ति राष्ट्र अमेरिकाका लागि राजदूत मनोनित भएर गएका युवराज खतिवडा पनि स्वदेश फर्किनुपर्ने अवस्था आएको छ ।
अमेरिकामा नेपाली राजदूतको जिम्मेवारी सम्हालिराखेका खतिवडाका सम्बन्धमा भने एउटा तीतो अनुभव बोकेर फर्किनु पर्ने भएको खबर छ । अमेरिका र नेपालका बीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ७४ वर्षपछि पहिलो पटक अमेरिकाका लागि नेपाली राजदूत भएका खतिवडाले अमेरिकाको राष्ट्रपति भवन ह्वाइटहाउसको दैलोमा समेत टेक्न नपाई स्वदेश फर्किनुपर्ने अवस्था आएको छ ।
यसैगरी दुई देशबीचका ७४ वर्ष लामो कूटनीतिक सम्बन्धको क्रममा पहिलोपटक नेपालका राजदूत खतिवडाले अमेरिकाका राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेशसमेत गर्न नपाएको खबर छ । जबकि खतिवडाले नेपालको राजदूतको जिम्मेवारी सम्हाल्ने क्रममा अमेरिकामा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हालिराखेका थिए र केपी ओली सरकारबाट विदा भएपछि जोए वाइडेनले यो जिम्मेवारी सम्हालिराखेका छन् ।
तर दुई राष्ट्रपतिको कार्यकालको अनुभव बटुल्ने अवसर पाउँदा पनि नेपालका राजदूत खतिवडाले भने राष्ट्रपति समक्ष भेट गरेर आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्ने र हात मिलाउने अवसर प्राप्त गर्न सकेनन् । यो घटनालाई कूटनीतिक क्षेत्रले नेपालसँग होइन, खतिवडाको हैसियतलाई जोडेर हेरेका छन् । कुनै पनि राजदूतका लागि योभन्दा अर्को दुर्भाग्य के होला ! साँघु साप्ताहिकमा खबर छ l