बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेनाका हाकिमहरू किन दोहोरो पासपोर्ट बोक्छन् ?

शनिबार, असोज ९ २०७८

काठमाडौँ l शान्ति सेना (मिशन) मा जाँदा ठूलाबडाहरुले दुई वटा पासपोर्ट प्रयोग गर्ने गरेको आरोप लगाइएको छ । विशेष गरी राम्रो कमाइ हुने पदमा जाने (अब्जर्भर) र स्टाफमा जाने अधिकांश अधिकृत,पदिक तथा अन्य दर्जाकाले दोहोरो पासपोर्ट प्रयोग गरेको रहस्य खुलेको हो ।

सेनाका एक जनाले जनआस्थालाई पठाएको पत्रमा भनिएको छ,‘प्राप्त साधारण र सरकारी दुबै पासपोर्ट लिएर जान्छन् । बिदा मनाउन नेपाल आउने भन्दै सिनियर नेपाली अफिसरलाई प्रभावमा पारेर नेपालस्थित सैनिक मुख्यालयलाई झुक्काई साधारण हरियो पासपोर्टमा उतैबाट अमेरिका र बेलायतको भिसा लगाई घुम्न जाने गरेका छन् ।’

पत्रमा अगाडि लेखिएको छ,‘उनै हाकिम र अधिकृतहरु नेपाल आएपछि जागिर छाडेर हरियो पासपोर्टमा लगाइएको भिसा देखाउँदै अमेरिका वा बेलायत भास्सिने गरेका छन् ।’

यो काममा सैनिक मुख्यालय जति दोषी देखिएको छ,त्यत्तिकै दोहोरो पासपोर्ट उपलब्ध गराउने परराष्ट्रका कर्मचारीहरूको समेत विशेष मिलेमतो रहेको उजुरीकर्ताको पत्रमा दाबी गरिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले ज्यादै माया गर्ने सूचना प्रविधि (आईटी) सेक्टरका केही अधिकृत तथा पदीक (प्रत्येक वर्षको अब्जर्भर छनौट परीक्षामा विशेष निगाह पाइरहेका) हरूले त्यस्तो हर्कत गरेको बताइन्छ ।

‘चिफ साहेबको कार्यकालमा दुबैथरि पासपोर्ट बोकी सुडान, कंगो र लेबनानमा विशेष शान्ति सेना (अब्जर्भर) मा रहँदा त्यहाँका सिनियर अफिसरलाई प्रभावमा पार्ने र आर्मी मुख्यालयलाई गुमराहमा राखी सिभिल पासपोर्ट (हरियो) मा अमेरिकी र बेलायतलगायतका युरोपेली मुलुकको भिसा लगाउने गरिएको छ,’ नेपाली सेनाको शुभचिन्तक भन्दै लेखिएको पत्रमा भनिएको छ, ‘र तिनै व्यक्तिले नेपालबाट हाल मिशनमा रहेका उनीहरूका साथीलाई समेत सोही तरिका सिकाई नेपाल फिर्ता आएको हुँदा विदेशमा विशेष शान्ति सेनामा रहेका अधिकृत पदिकहरूको पासपोर्टउपर समेत विशेष छानबिन गर्ने आँट गर्नुहुन हालका र अब नयाँ नियुक्त हुन लाग्नुभएका प्रधानसेनापतिलाई आग्रह गर्दछौं ।’ जनआश्था साप्ताहिकमा खबर छ l