बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

परराष्ट्रमन्त्री डा. खड्का न्यूयोर्क पुगे , के छन् कार्यतालिका ?

शुक्रबार, असोज ८ २०७८

काठमाडौं । पराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क पुगेका छन् ।

मन्त्री खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई, न्युयोर्कस्थित कायममुकायम महावाणिज्यदूत विष्णुप्रसाद गौतमलगायत दुवै नेपाली नियोगका अधिकारीले स्वागत गरेका छन् ।

परराष्ट्रमन्त्री खड्काले आगामी सोमबार महासभालाई सम्बोधन गर्ने कार्यतालिका छ । त्यहा उनले  कोभिड–१९ बाट थलिएको अर्थतन्त्रको पुनःस्थापना,  पुनःनिर्माण र पृथ्वीको आवश्यकता पूरा गर्नका लागि   संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने विषयमा सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले बताइन्  ।

न्युयोर्कमा रहँदा उनले मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनुका साथै विभिन्न देशका आफ्ना समकक्षीसँग दुईपक्षीय बैठक तथा राष्ट्रसङ्घका उच्च पदाधिकारीसँग भेटवार्ता गर्ने प्रवक्ता लम्सालको भनाइ छ । प्रतिनिधिमण्डलमा परराष्ट्र सचिव भरतराज पौड्याल, प्रवक्ता लम्साल, स्थायी प्रतिनिधि राई, महावाणिज्यदूत गौतमसहितका अधिकारी सहभागी छन् ।