काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत चयन भएका छन् । १५ वटा पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका जिल्लाकै पहिलो भएको छ ।
कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको बताए । असोज ९ गते गणेशलाई आधिकारिक सभापति भएको घोषणा गर्ने थापाले बताए । पार्टीको निर्वाचन कार्यतालिका अनुसार नगर तथा गाउँको अधिवेशन यही असोज ९ गते हुँदैछ ।
सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेका छन् । आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको हो ।
गणेशका नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी छन् । पार्टीका जिल्ला सभापति थापाले अन्य पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बतए । पालिकामा २५६ क्रियाशील सदस्य छन् ।
जिल्लाका अन्य पालिकामा भने सभापतिका लागि हरेक पालिकामा तीनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् । झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो ।
गणेशले आफू कुनै गुटको नभई सिंगो कांग्रेसको कार्यकर्ता भएको बताएका छन् । जिल्लामा १३१ वडामा एक जना पनि महिला सभापति पार्टीले निर्वाचित गराउन सकेन ।