काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरण प्रस्तुत गरेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल व्यक्तित्व हुन् ।
विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा सिंहले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय रहे ।
राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि उनीलाई तत्कालीन सरकारले जेल हाल्यो । जोशिला र तन्नेरी सिंह भने विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भए । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बीपी कोइरालासँग उनले राजनीतिक सम्बन्ध बढाएका थिए ।
विसं १९९७ देखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका नेता सिंहको महत्वपूर्ण योगदान २०४६ सालमा पनि उत्तिकै प्रभावकारी रह्यो । जनआन्दोलनका लागि कम्युनिष्टसँग मिलेर पञ्चायतविरुद्ध आन्दोलनको घोषणा गर्ने सिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर भई सबैको प्रिय बनेका थिए ।
नेता सिंहको २४ औँ स्मृति दिवसका अवसरमा आज कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमको आयोजना गरेका छन् । कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर कार्यक्रम आयोजना गरिने कांग्रेसले जनाएको छ ।