प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका एपमा व्यस्त नहुन निर्देशन दिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेले प्रहरी कर्मचारीलाई सामाजिक सञ्जालको सदुपयोग गर्न निर्देशन दिएका छन् ।
उनले प्रहरी कर्मचारी ड्युटीमा रहेका बेला सामाजिक सञ्जालमा व्यस्त हुन नहुने, अन्य समयमा पनि प्रहरीले समाजमा सकारात्मक सन्देश दिनुपर्ने र सामाजिक हितका सामग्री पोष्ट गर्नुपर्ने बताए।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा तथा मातहतका प्रहरी इकाइमा कार्यरत ४५ जना प्रहरी कर्मचारीलाई प्रहरीले पालना गर्नुपर्ने आचारसंहिता र सामाजिक सञ्जाल प्रयोगसम्बन्धी सचेत गराइएको जिल्ला प्रहरी प्रमुख काफ्लेले बताए।
“प्रहरीले मनोरञ्जनमा लागेर अलमल गर्न त पाउँदैन। ड्युटीमा मोबाइल चलाएर टिकटक बनाएर बस्ने कुरा त झन् स्वीकार्य हुँदैन”, उनले भने।