आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भारतीय कन्टेनरको एकाधिकार तोडियो , आज पहिलो पटक निजी कार्गो रेल समान बोकेर नेपाल आईपुग्यो

बुधबार, भाद्र ३० २०७८

काठमाडौं । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक आज नेपाल आइपुगेको छ । भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक बुधवार बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल  वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ । 

समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले हल्दियाबाट खाद्यान्नको २० फिट अग्लो ९० वटा कन्टेनर बोकेको रेल वीरगञ्जस्थित सुख्खा बन्दरगाह आइपुगेको जानकारी दिए । उनका अनुसार हिम्ड टर्मिनल प्रालिले सातामा दुई दिन कार्गो ढुवानी गर्ने जनाएको छ । त्यस्तै   अन्य चार कम्पनीले समेत कार्गो ढुवानीमा इच्छा देखाएका छन् । निजी क्षेत्रका कार्गो रेललाई ढुवानी खुला गरेसगैँ अन्य कम्पनीले पनि सेवा बढाउन सक्ने अनुमान गरिएको छ ।  

नेपाल भारतबीच सन् २००४ मा भएको रेल सेवा सम्झौताले रेलमार्फत हुने ढुवानीमा भारतीय रेल्वेको भगिनी संस्थाको रुपमा रहेको कन्टेनर निगम (कोन्कर) लाई एकाधिकार दिइएको थियो । १७ वर्षपछि भारतीय कन्टेनरको एकाधिकार तोड्दै गत असार २५ गते सम्झौता संशोधन गरिएको थियो ।

रेल सेवा संशोधनको करिब दुई महिना पश्चात पहिलो पटक निजी कार्गो रेल वीरगन्जस्थित सुख्खा बन्दरगाहामा आएको हो ।