बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रतिस्थापन विधेयक पारित हुन ढिलाई, राज्यले गर्ने खर्च पनि रोकिने

मंगलबार, भाद्र २९ २०७८

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले केही दिन राज्यले गर्ने खर्च रोकिने बताएका छन्  । प्रतिनिधि सभामा प्रस्तुत भएको प्रतिस्थापन विधेयक पारित हुन ढिलाई हुने देखिएसँगै अर्थमन्त्री शर्माले केही दिन खर्च रोकिन सक्ने तर्फ सचेत गराएका हुन् । संविधानअनुसार अध्यादेश संसदमा प्रस्तुत भएको ६० दिनमा पारित नभएमा निस्क्रिय हुनेछ । 

जसअनुसार, तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत जेठ १५ गते अध्यादेशमार्फत ल्याएको बजेट बुधवारसम्म मात्रै सक्रिय रहने छ । भोलिबाट यस अध्यादेश निष्क्रिय हुदैछ ।

अर्थमन्त्री शर्माले राजनीतिक दलहरूसँग छलफलमार्फत सहमति गर्ने प्रयास भइरहेको बताउँदै सहमति भएसम्म यसलाई सहमतिबाटै पारित गर्ने बताएका छन् । 

अर्थमन्त्री शर्माले बजेट पारित हुन ढिलाई भएमा खर्च रोकिने बताए ।  कर उठाउने विशेष व्यवस्था भएकाले कर उठाउन समस्या नभएपनि  राज्यले गर्ने खर्च भने एक सातासम्म रोकिन सक्ने मन्त्री शर्माको भनाई छ ।  प्रतिस्थापन विधेयक पास भएपछि मात्रै राज्यले गर्नुपर्ने नियमित खर्चहरू हुने छन् ।

भदौ ३० गतेभित्र अध्यादेश या विनियोजन विधेयक पारित भइसक्नु पर्ने थियो । तर प्रतिनिधि सभा बैठक असोज ४ गतेसम्मको लागि स्थगित भइसकेको छ । 

सरकारले असोज ४ गते बस्ने बैठकबाट विधेयक पारित गर्ने तयारी गरेको छ । असोज ४ गते बस्ने बैठकको पहिलो कार्यसूची विनियोजन विधेयक पारित गर्ने हुने  संसद सचिवालय स्रोतले जनाएको छ । 

विधेयकमा संशोधनका लागि ७२ घण्टाको समय दिनुपर्ने भएकोले प्रतिनिधि सभाको बैठक असोज ४ गतेसम्म स्थगित गरिएको हो ।