काठमाडौँ l नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। सोमबार काठमाडौँमा र्यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्।
नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले एमसीसी पारित गर्ने मुर्खता गरे देशभर आन्दोलन चर्काउने नेकपाले चेतावनी दिँदै आएको छ।
काठमाडौंको त्रिपुरेश्वर, लैनचौर र बबरमहललगायत स्थानबाट जुलुस निकाल्दै नेकपाले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनका सहभागिले ‘राष्ट्रघाती एमसीसी परियोजना खारेज गरौँ, राष्ट्रिय सार्वभौमिकताको रक्षा गरौं’ जस्ता नारा लगाएका थिए । कार्यक्रमलाई महासचिव चन्दलगायतका नेताले सम्बोधन गरेका छन् ।
चन्द नेतृत्वको नेकपासहितका केहीले एमसीसीको विरोध गरिरहेका छन् भने सरकार संसदबाट उक्त सम्झौता पारित गराउने प्रयासमा छ । नेपालमा विरोध बढ्दै गइरहेका बेला एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको नेतृत्वको टोली चार दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्केको छ । त्यसक्रममा टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख विपक्षी दलका नेता केपी ओलीलगायत प्रमुख दलका नेताहरूसँग भेट गरेको थियो ।