काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोनाको असर कम हुँदै गएकाले आर्थिक गतिविधि थप चलायमान भएसँगै चालु आर्थिक वर्षमा सात प्रतिशतको आर्थिक वृद्धि हुने दाबी गरेका छन् ।
अध्यादेशबाट आएको चालु आवको बजेटको प्रतिस्थापन गर्न प्रतिनिधिसभामा विधेयक पेश भएपछि आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य असम्भव नरहेको बताए । त्यसका लागि क्रमशः वातावरण बन्दै गएको शर्माको भनाई छ ।
अर्थमन्त्री शर्माले गरिबी न्यूनीकरण लागि ठोस योजनासहितका कार्यक्रम ल्याउन लागिपरेको र छिट्टै सार्वजनिक गर्ने जानकारी दिए ।
व्यापार घाटा कम गर्नका लागि आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएको र आयात प्रतिस्थापन गर्ने विषयलाई प्रमुख प्राथमकितामा राखिएको उनको भनाइ छ ।
अध्यादेशबाट ल्याइएको बजेटका प्रमुख प्रावधानलाई कायम राखी केही संशोधन गरिएको र छोटो समयमा काम गर्नुपरे पनि जनताको अपेक्षालाई सम्बोधन गर्ने प्रयास गरिएको अर्थमन्त्रीको भनाइ छ ।
उत्पादन क्षेत्रलाई बजेटले प्रमुख प्राथमिकतामा राखेको भन्दै अर्थमन्त्रीले कृषिमा आत्मनिर्भर हुने लक्ष्यका साथ कृषि बाली बीमालाई ८० प्रतिशत पुरयाइएको, नयाँ प्रयोगका रुपमा पढ्दै कमाउँदै भन्ने कार्यक्रम अगाडि सारिएको बताए।
मन्त्री शर्माले राजनीतिक परिवर्तनमा योगदान गरेका व्यक्तिको परिवारलाई राज्यले सम्झेको छ भन्ने उद्देश्यले मासिक भत्ता दिने व्यवस्था गरिएको र बर्हिगमित लडाकुलाई रोजगारीमा जोड्ने कार्यक्रम पनि बजेटमा समावेश रहेको जानकारी दिए ।
वैदेशिक रोजगारीबाट कमाएर ल्याएको मध्ये ३० प्रतिशत उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि सम्बन्धित व्यक्ति र परिवारलाई थप प्रोत्साहन गरिने सरकारको योजना छ ।