काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा संसदको बैठक अघि बढाएका छन् । आजको पहिलो बैठक एमाले सांसदहरुको नाराबाजीका कारण स्थगित भयो ।
दोस्रो बैठकमा पनि एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुखले संसदको कारबाही अगाडि बढाएका हुन् ।
उनले नेपाल मजदुर किसान पार्टी नेमकिपाका सांसद प्रेम सुवाललाई अध्यादेश अस्वीकारको प्रस्ताव पेश गर्न समय दिए । सुवालले प्रतिपक्षको नाराबाजीका बीच विरोधको सूचना पेश नगर्ने बताए लगत्तै सभामुखले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश पेश गर्न समय दिएका थिए ।
नाराबाजी गरिरहेका एमाले सांसदहरुले अर्थमन्त्रीको बाटो छेक्न खोजेका थिए ।
शर्मा दौडिएर रोष्टममा पुगेर प्रमुख प्रतिपक्षीको नाराबाजीका बीच अध्यादेश पेश गरे । अर्थ मन्त्री जनार्दन शर्माले पेस गरेको प्रस्ताव सभामुख अग्नि सापकोटाले बहुमतले स्वीकृत भएको घोषणा गरे । संसदमा अध्यादेश पेस भएको ६० दिनभित्रै प्रतिस्थापन विधेयक ल्याउनुपर्ने व्यवस्था छ ।
संसदमा बजेट अध्यादेश दर्ता भएको ६० दिन पुग्न अब एक हप्ता मात्रै बाँकी छ ।