काठमाडौं । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथको मन्दिर आजदेखि खुला भएको छ । साढे ४ महिनादेखि बन्द पशुपतिनाथको मन्दिर आज बिहान क्षमा पूजा गरेपछि सर्वसाधारणका लागि खुला गरिएको पशुपति क्षेत्रविकास कोषले जनाएको छ ।
आजदेखि खुला गरिए पनि कोरोना जोखिम पूर्णरूपमा नहटेकाले मन्दिर दिउँसो एक बजेसम्ममात्र खुला गरिने कोषको भनाई छ ।
पशुपतिनाथ मन्दिर दर्शन गर्न जान चाहने भक्तजनले अनिवार्यरूपमा मास्क लगाउनुपर्ने छ ।
एकपटकमा २५ जना भक्तजनलाई मात्र मन्दिर प्रवेश गराइने छ । मन्दिर प्रवेशका लागि भक्तजनले भौतिक दूरी कायम गरेर लाइनमा बस्नुपर्ने छ । एउटा ढोकाबाट मन्दिर प्रवेश गरेपछि अर्को ढोकाबाट निस्कने व्यवस्था कोषले मिलाएको छ ।
यसअघि, पहिलोपटक कोरोना महामारी सुरु हुँदा पनि नौ महिनासम्म पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।