काठमाडौँ । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदनको तयारी भइरहदा अमेरिकी प्रतिनिधी फातिमा सुमार आज नेपाल आउदै छन् ।
सुमर बिहीबार बिहान कतारको दोहाबाट काठमाडौँ आइपुग्दै छिन् । उनको आगमनलाई लिएर विमानस्थल र आसपासको क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको हो ।
विमानस्थल प्रवेशमा निकै कडाइ गरिएको छ । उडानका लागि विमानस्थल प्रवेश गर्ने सर्वसाधारणहरुको पनि कडा जाँच भइरहेको छ । सुरक्षाकर्मीले पत्रकारहरुलाई विमानस्थल प्रवेश गर्न दिएका छैनन् ।
एमसिसी परियोजनाबारे नेपालमा भइरहेको चर्को विरोधका कारण सुमार यात्रा विवरण गोप्य राखिएको छ।
चार वर्षअघि नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बीच मिलेनियम च्यालेञ्ज सम्झौतामा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौता अनुसार नेपालको संसदबाट यो सहायता अनुमोदन हुन भने बाँकी छ । सडक सञ्जाल र अन्तरदेशिय विद्युत् प्रसारण लाइन निर्माणको लागि अनुदानस्वरूप अमेरिकाबाट प्राप्त हुने भनिएको ५० करोड डलर सहयोगलाई लिएर राजनीतिक वृत्तका साथै जनस्तरमा विवाद बढिरहेको छ ।