आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

वाग्मती प्रदेशमा मन्त्रीपरिषद् विस्तार, को को बने नयाँ मन्त्री ?

बुधबार, भाद्र २३ २०७८

काठमाडौं ।  वाग्मती प्रदेशमा आज थप ६ मन्त्री र चार राज्यमन्त्री थपिएका छन् । अल्पमतमा रहेकी  मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज   दश मन्त्री थपेर मन्त्रीपरिषद विस्तार गरेकी हुन् । सत्ता जोगाउनकै लागि शाक्यले भागबण्डा मिलाउन भन्दै सामाजिक विकास मन्त्रालय समेत फुटाएकी छन् । प्रदेश सरकारमा मन्त्रालय फुटाउने अभ्यास थिएन पहिलो पटक शाक्यले मन्त्रालय फुटाएर मन्त्री थपेकी हुन् । 

नवगठित मन्त्रिपरिषदमा डाक्टर अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै रचना खड्कालाई आर्थिक मामिला तथा योजना मन्त्री बनाईएको छ । विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् ।  

प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री नियुक्त गरिएको छ । नियुक्त भएका ६ मन्त्रीलाई प्रदेश प्रमुख यादव शर्माले शपथ ग्रहण गराएका छन् ।

मुख्यमन्त्री शाक्यले जीवन खड्का, सरस्वती बाटी, जुनेली श्रेष्ठ र बद्री मैनालीलाई भने राज्यमन्त्रीमा नियुक्त गरेकी छन्  । 
 वाग्मती प्रदेशको मन्त्रिपरिषद् अब १२  सदस्यीय भएको छ । मन्त्रीपरिषद विस्तार गरेर सत्ता टिकाउने प्रयास गरेपनि केही सांसदले माधव नेपाल नेतृत्वको नयाँ पार्टी रोजेसँगै वाग्मती सरकार यसअघि नै

अल्पमतमा परिसकेको छ । शाक्य गत भदौं २ गते नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेकी थिईन् । 
 वाग्मतीका ५६ मध्ये १३ सांसद एकीकृत समाजवादीमा गएपछि शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको हो । शाक्यले अबको १० दिनभित्रमा विश्वासको मत लिनु पर्ने छ ।