काठमाडौं । पछिल्ला हप्तामा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको देखिन्छ । पछिल्लो पटक मुलुकभरि नै सङ्क्रमण पनि घटेको चिकित्सकले बताएका छन् ।
सरकारले जोमिखममा रहेका व्यक्तिलाई खोप लगाउने कामलाई प्राथमिकतामा राखेर खोप लगाएको र यसबाट रोग प्रतिरोधात्मक क्षमता बढ्न गई सङ्क्रमण घटेको चिकित्सकको भनाइ छ । धेरै नागरिकले खोप पाएको र जोखिममा रहेका सङ्क्रमित पनि निको भएपछि उनीहरुमा पनि एन्टिबडीसमेत बनिसकेकाले सङ्क्रमण हुने व्यक्तिको सङ्ख्या घट्दै गएको चिकित्सकको भनाई छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पछिल्लो हप्ता सङ्क्रमण दरमा समेत कमी आएको जानकारी दिएका छन् । उनका अनुसार पहिले परीक्षण गराएकामध्ये २२ प्रतिशत सङ्क्रमण हुने गरेकोमा अहिले १३ देखि १५ प्रतिशतमा मात्र सङ्क्रमण देखिएको छ ।
अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि विगत १० दिनदेखि कमी हुँदै आएको अस्पतालहरुले जनाएका छन् । सङ्क्रमणको दोस्रो लहर आएसँगै साउनमा सङ्क्रमण बढेकामा भदौको दोस्रो सातादेखि घट्दै गएको तथ्यांकले देखाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुपराज बाँस्तोलाले पहिलेभन्दा सङ्क्रमित भएर उपचार गराउन आउने विरामीको सङ्ख्यामा कमी आएको बताए ।
डा. बास्तोलाका अनुसार धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको र रोग प्रतिरोधात्मक क्षमता पनि बढेकाले सङ्क्रमण घटेको हो ।
नेपालमा अहिले दैनिक एक लाख जनाले खोप लगाइरहेका छन् । नेपालमा अहिलेसम्म ५६ लाख तीन हजार ७५७ जनाले पहिलो मात्रा र ५० लाख १२ हजार ८२१ जनाले पूर्ण मात्राको खोप लगाइ सकेका छन् ।
सरुवारोग विशेषज्ञ डा सागर राजभण्डारी खोप लगाएका र जनस्वास्थ्यका मापदण्ड लागू गरेकाले सङ्क्रमण कम भएको बताउछन् ।
त्यस्तै, सङ्क्रमणबाट निको हुने दर पनि दैनिक बढिरहेको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । मन्त्रालयका अनुसार अहिले निको हुने दर ९४ दशमलव ७ प्रतिशत पुगेको छ । भदौ १५ गतेदेखि निको हुने दर लगातार बढिरहेको छ ।